शान्तिपूर्ण होली प्रवर्द्धनका लागि मायादेवीमा ‘मुन क्याम्प’ तथा विद्यालय रंगरोगन
कपिलवस्तु, फागुन १७ गते । फागु पूर्णिमा (होली) पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउने संस्कार विकास गर्ने उद्देश्यले कपिलवस्तुको मायादेवी गाउँपालिकामा ‘मुन क्याम्प’ तथा विद्यालय रंगरोगन कार्यक्रम सम्पन्न भएको छ।
पछिल्ला वर्षहरूमा होलीका नाममा जबरजस्ती रङ लगाउने, लोला प्रहार गर्ने, दुर्व्यवहार तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गतिविधि बढ्दै गएको सन्दर्भमा पर्वको मौलिक मर्म जोगाउन कार्यक्रम आयोजना गरिएको हो।
दलित सामाजिक विकास केन्द्र र यू एम एनको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजको आयोजनामा तथा मायादेवी गाउँपालिका भित्रका आठ वटा युवा क्लबको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका–३ बरसौलीस्थित मदरसा रियाजुल उलुम अल साफिया आधारभूत विद्यालयको चार कोठे भवनमा रंगरोगन गरी क्याम्प सञ्चालन गरिएको थियो। क्याम्पमार्फत समुदायमा शान्ति, सद्भाव र सह–अस्तित्वको भावना अभिवृद्धि गर्नुका साथै होली पर्वको वास्तविक महत्वबारे सचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक जितेन्द्र चौधरीका अनुसार युवालाई सामुदायिक सेवा र स्वयंसेवामार्फत समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्नु पनि क्याम्पको उद्देश्य हो।
प्रगतिशील युवा समाजका सचिव बिन्देशरी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद गौसिम, विद्यालयका प्रधानाध्यापक तथा समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब ६० जना युवाको सक्रिय उपस्थिति रहेको जनाइएको छ।
अध्यक्ष यादवले कार्यक्रमले समुदायमा शान्तिपूर्ण तथा मर्यादित होली मनाउने संस्कृतिको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। मदरसाका प्रधानाध्यापक मसउद् आलमले युवाको सक्रिय सहभागिताले विभिन्न जातजाति र धर्मबीच आपसी सम्मान र भाइचाराको सम्बन्ध सुदृढ भएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन दलित सामाजिक विकास केन्द्रका युवा संलग्नता अधिकृत प्रशुराम निगमले गर्नुभएको थियो।



















