बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर
कपिलवस्तु, १८ फागुन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य ले चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै बुद्धभूमि नगरपालिका का तीन वडामा घरदैलो तथा र्याली कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको आयोजकले जनाएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार आचार्यले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माणका अधुरा योजना सम्पन्न गर्ने, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनअपेक्षा अनुरूप पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने धारणा राख्नुभयो।
र्यालीमा सहभागी नेता–कार्यकर्ता तथा समर्थकहरूले विकास र समृद्धिका पक्षमा नाराबाजी गरेका थिए। कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीयवासीले सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, खानेपानी व्यवस्थापन तथा युवालाई रोजगारी सिर्जनाको माग राखेका थिए। उम्मेदवार आचार्यले जनताका सुझावलाई आगामी कार्ययोजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
चुनावी कार्यक्रम अन्तर्गत आगामी दिनमा अन्य वडामा समेत घरदैलो तथा कोणसभा सञ्चालन गरिने जनाइएको छ।



















