दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?
कपिलवस्तु क्षेत्र नम्बर-२ मा दुई पुर्वमन्त्रीहरुलाई पराजित गर्दै रास्वपाका बिक्रम सिंह थापाले शानदार जित हासिल गरका छन्।
पूर्व एसएसपी समेत रहेका थापाले चार पटकका सांसद बृजेश कुमार गुप्ता र २ पटकका सांसद सुरेन्द्र आचार्यलाई भारी मतान्तरले पराजित गरेका हुन्। थापाले २७ हजार ६३५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी कांग्रेसका आचार्यले २१ हजार ५२७ मत पाएका थिए।
अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने काममा उल्लखेनीय भुमिका खेलेको थापा सेवा निवृत पछि २०७४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।
२०७९ मा उनी कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु–२ (क) मा ५२२ मतले पराजित भएका थिए। २०८२ मा कांग्रेसबाट कपिलवस्तु–२ मा प्रतिनिधिसभा सदस्यमा ४ जनाको नाम सिफारिस भएका थापाको नाम पनि थियो। तर, कांग्रेसबाट टिकट नपाएपछि थापाले रास्वपा प्रवेश गरी चुनावी मैदान उत्रिएका थिए।
गुल्मीमा जन्मिएका उनी डेढ दशकदेखि कपिलवस्तुमा सामाजिक लगायतका क्षेत्रमा काम गर्दै आएका छन्। गुल्मीको महेन्द्र माविबाट २०३७ सालमा एसएससी उत्तीर्ण थापा उदय प्रताप कलेज बनारस भारतबाट बिएससी उत्र्तिण गरेका थिए। हक्की स्वभावका उनी अन्याय अत्याचार र भष्ट्राचार बिरुद्ध आवाज बुलन्द गर्दै आएका थिए।
६३ वर्षे उमेरमा उनले सांसदको यात्रा तय गरेका छन। निर्वाचित भएपछि शनिबार मध्यरात तिर उनले प्रमण पत्र लिएका थिए। सो अवसरमा बुद्धनगरीमा आफुले भष्ट्रचारविरुद्ध डटेर सामना गर्ने र युवाहरुलाई रोजगारीकालागि लागी पर्ने बताए।
‘म राजनीतिलाई सेवाका रुपमा लिन्छु,’ उनले भने, ‘पहिले सामाजिक जीवनको अभिन्न अंग शान्ति सुरक्षा, अमनचयन कायम गराउने कामबाट जनतासँग जोडिएको थिए। अब जन प्रतिनिधिको रुपमा जनतासँग जाडिएको छु।’
पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल र रमेश खरेलसँगै उनले २०४६ सालमा प्रहरी निरीक्षकमा सेवामा प्रवेश गरेका थिए। उनले कपिलवस्तु, बाँके, ललितपुर लगायतका जिल्लाको एसपीका रुपमा काम गरेका थिए।



















