कपिलवस्तु । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसिद्धिको अवसर” भन्ने नारासहित ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम ८ मार्च २०२६ मा आयोजना गरिएको हो।
किशोरी अधिकार मञ्च कपिलवस्तुको आयोजनामा तथा दलित सामाजिक विकास केन्द्र (डीएसडीसी), वोरेक नेपाल लगायत विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम पुष्पा रेमी रेग्मीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलाहरूलाई सशक्त रूपमा अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो। उहाँले नेपालमा अधिकार र सशक्तीकरणको हिसाबले महिलाहरूको सहभागिता बढ्दै गएको उल्लेख गर्दै निर्णय प्रक्रियामा अझ प्रभावकारी रूपमा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। हालै नेपालमा महिला नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उदाहरण दिँदै उहाँले महिलाको नेतृत्व क्षमता अझ सुदृढ हुँदै गएको बताउनुभयो।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेले समाजमा महिला अधिकार र समानताको सुनिश्चितताका लागि राज्य, नागरिक समाज र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले महिला तथा बालिकामाथि हुने विभेद र हिंसा अन्त्य गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष पुष्पा रेमी रेग्मीले महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा सहज पहुँच हुनुपर्नेमा जोड दिनुभयो। उहाँले महिला तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, स्थानीय सरोकारवालाहरू तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।