काठमाडौँ । २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पाइएको छ। सुरक्षा व्यवस्थापन, झडपका घटना, मानवीय क्षति तथा मतदान व्यवस्थापनका दृष्टिले यसपटक उल्लेखनीय सुधार देखिएको जनाइएको छ।

२०७९ सालको निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटनाहरू भएका थिए। सो क्रममा बाजुरा र कालिकोटमा गरी चार जनाको मृत्यु भएको थियो भने इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएका थिए।

त्यसैगरी ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयास भएका थिए। ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा गरी ५० स्थानमा झडपका घटना भएको र उदयपुर, दोलखा तथा सिन्धुपाल्चोकमा बुथ कब्जाका घटनासमेत भएको थियो। देशभर ६२ मतदान स्थलमा निर्वाचन कार्य अवरुद्ध भएको तथ्याङ्क पनि सार्वजनिक भएको थियो।

यसपटक भने सुरक्षा व्यवस्थापन चुस्त र प्रभावकारी बनाइएकाले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको सक्रिय उपस्थितिका कारण कुनै ठूलो झडप वा हिंसात्मक घटना हुन नपाएको जनाइएको छ। कतिपय स्थानमा सामान्य विवाद देखिए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएकाले मतदान प्रक्रिया सहज रूपमा अघि बढेको थियो।

नेपाल प्रहरीका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरिएको थियो। संवेदनशील जिल्लाहरूमा उच्च तहका अधिकृतहरूको अनुगमन र सुपरीवेक्षणका कारण सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनेको जनाइएको छ।

मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन शान्तिपूर्ण देखिएको छ। अघिल्लो निर्वाचनमा मृत्यु र घाइतेका घटनाहरू सार्वजनिक भए पनि यसपटक त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्।

मतदान स्थगन र पुनः मतदानका सन्दर्भमा पनि यसपटक उल्लेखनीय सुधार देखिएको छ। केही स्थानमा प्राविधिक समस्या वा सामान्य विवाद भए पनि मतदान स्थगित गरी पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना नभएको बताइएको छ।

सुरक्षा निकायहरूको प्रभावकारी समन्वय, मतदाताको सचेतना, राजनीतिक दलहरूको जिम्मेवारीपूर्ण भूमिका तथा निर्वाचन व्यवस्थापनमा गरिएको सुधारका कारण २०८२ फागुन २१ गतेको निर्वाचन तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको मूल्याङ्कन गरिएको छ। नेपाल प्रहरीको व्यावसायिकता, अनुशासन र प्रभावकारी परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।