तौलिहवा(कपिलबस्तु), फागनु २५ गते । जिल्लाको कृष्णनगर क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार कृष्णनगर नगरपालिका ३ झण्डिनगरबाट ९ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई पक्राउ गरिएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंका लागेपछि जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको उहाँको भनाई छ ।
यसैबीच थप अनुसन्धानका क्रममा प्रहरीले कृष्णनगर नगरपालिका–२ स्थित यात्रुगेटबाट भारतको सिद्धार्थनगर वढनी निवासी २३ वर्षीय दिपेन्द्र कश्यपलाई पनि पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो १ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।