नेपालगन्ज, फागुन ३० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरी वनस्पति उद्यान पछिल्लो समय प्रकृतिप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ ।

बगैँचाभरि फुलेका रङ्गीचङ्गी फूल, हरियालीयुक्त खुला वातावरण र शान्त प्राकृतिक परिवेशले पर्यटकलाई आकर्षित गरिरहेको छ । प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो उद्यान पहिलो रोजाइ बन्न थालेको हो ।

अहिले उद्यान अवलोकनका लागि दैनिक ३०० देखि ४०० जनासम्म आन्तरिक पर्यटक तथा विद्यार्थी आउने गरेको ढकेरी वनस्पति उद्यानका अधिकृत रामकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्यान केवल घुमफिरका लागि मात्र नभई वनस्पति अध्ययनका लागि समेत महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

नेपाल सरकारले लोपोन्मुख वनस्पतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरेको यस उद्यानमा दुर्लभ प्रजातिका वनस्पति सुरक्षित रूपमा हुर्काइँदै आएको छ । सोही कारण बाँकेका साथै दाङ, कपिलवस्तु लगायतका जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययन तथा अवलोकनका लागि यहाँ आउने गरेका छन् ।

उद्यान अवलोकनका लागि पुग्नुभएका नेपालगन्ज–१ का समद सिद्दिकीले जैविक विविधता र शान्त वातावरणले गर्दा यो क्षेत्र उत्कृष्ट पर्यटकीय स्थलका रूपमा स्थापित भइरहेको बताउनुभयो । उहाँले यसको थप प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्राकृतिक सौन्दर्य र शैक्षिक महत्त्व बोकेको ढकेरी वनस्पति उद्यानले पश्चिम नेपालको पर्यटन र वनस्पति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।