ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
लेखनाथ, फागुन ३० गते । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो । “ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले जरिवाना गरेका छौँ, यहाँ एउटा सिलिण्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरण पनि भेटिएको छ” उहाँले भन्नुभयो ।
टोलीले पोखराको पाँच वटा ग्यास डिलरको अनुगमन गरेको छ । अनुगमनअघि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा शनिबार बसेको बैठकले ग्यास डिलरहरूलाई प्राप्त परिणाम र दैनिक वितरणको अभिलेख राख्न, अनुचित भण्डारण नगर्न निर्देशन दिएको थियो ।
बैठकमा ग्यास उद्योगी एवम् बिक्रेताहरुले पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको जनाएका थिए । पोखरा बजारमा ग्यासको अभाव देखिएको छ ।



















