कपिलबस्तुमा दुर्घटनाबाट तीन जनाको मृत्यु
तौलिहवा(कपिलबस्तु), फागनु ३० गते । जिल्लामा छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति पौने ११ बजेतिर यशोधरा गाउँपालिकाको वसन्तपुर– पुरनिहवा सडक खण्डमा सेमराहवा चोकदेखि वसन्तपुरतर्फ जाँदै गरेको लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोष आचार्यले दुर्घटनामा यशोधरा गाउपालिका वडा नम्बर १ तिर्खिर्खीका ४२ वर्षीय रम कुमार चौधरीको मृत्यु भएको बताउनुभयो । घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले चौधरीलाई मृत घोषणा गरेको थियो ।
त्यस्तै तौलिहवा–बहादुरगञ्ज सडक खण्ड अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर ३ गनवरियामा युपी ४७ एएल ४८२२ नम्बरको बुलेट बाइक दुर्घटना हुँदा भएको हो । मोटरसाइकलमा पछाडी सवार ३८ वर्षिय पुष्पा चौधरी बाटोको जम्पिङमा उफ्रिदा खस्न गई टाउको, नाक र शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । पुष्पालाई कपिलबस्तु अस्पतालमा सामान्य उपचार पश्चात भैरहवा पठाइएको थियो । गम्भीर घाइते चौधरीलाई भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ ।
मेटरसाइकल चालक विनय चौधरीलाई प्रहरीले नियन्त्रण लिइएको छ ।
यसैगरी तौलिहवा– गोरुसिंगे सडकखण्डमा तौलिहवाबाट गोरुसिंगे जाँदै गरेको लु ९७ प ०९४६ नम्बरको मोटरसाइकललाई हरिणले झुक्काउँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
घटनामा मोटरसाइकलको पछाडी सिटमा बसेका यशोधरा गाउपालिका ४ का ६५ वर्षीय गोमती प्रसाद यादवको रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय गिरीजेश कुमार पाण्डेय घाइते भएको र उहाँको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















