कपिलवस्तु । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा कपिलवस्तुको यशोधरा गाँउपालिका–३ बसन्तपुर पूर्व डिहमा “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नारासहित ‘महिलाको सवाल हाम्रो आवाज (संवाद)’ कार्यक्रम सम्पन्न भएको छ ।
दलित सामाजिक विकास केन्द्रको आयोजना, यशोधरा गाँउपालिकाको समन्वय तथा अस्टे«लियन एड र युएम एनको आर्थिक सहयोगमा भएको हो ।
सो अवसरमा बोल्दै गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्यले महिलाको अधिकार, सम्मान र अवसर सुनिश्चित गर्न सबै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन सीपमूलक तालिम, शिक्षा र स्वरोजगारका कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो । कुनै पनि समस्या वा गुनासो भए गाउँपालिकामा आएर खुला रूपमा राख्न महिलाहरूलाई आग्रह गर्दै उहाँले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै वडा नं. २ का वडाध्यक्ष मनोज चौबेले समाजको समग्र विकासका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । महिलाले शिक्षा, सीप र आत्मविश्वासको माध्यमबाट आफ्नो अधिकार स्थापित गर्न सक्ने उल्लेख गर्दै उहाँले स्थानीय तहले महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो ।


त्यस्तै दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदसले महिला सशक्तीकरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले मिलेर शिक्षा, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


सो अवसरमा समाजमा सकारात्मक योगदान पु¥याउने ६ जना महिलालाई सम्मान गरिएको थियो ।


संस्थाकी अध्यक्ष सुरजमति पासीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ की वडाध्यक्ष सरीता त्रिपाठी स्थानीय विभिन्न समूहका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, धर्मगुरु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । स्वागत मन्तव्य रमेश कुर्मीले व्यक्त गर्नुभएको थियो ।