पुष्प व्यवसायमा नौ अर्ब लगानी
काठमाडौँ, चैत ५ गते । पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब नौ अर्ब रुपियाँ लगानी रहेको पाइएको छ । बढ्दो सहरीकरणसँगै पुष्प व्यवसाय विस्तार भई आत्मनिर्भरतातर्फ गएको छ । तिहारका बेला सयपत्री माला आयात भए पनि अन्य सिजनमा भने पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर बनेको छ ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपियाँ बढीको लगानी छ । देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ । यस व्यवसायमा ५३ हजार पाँच सय बढीले रोजगारी पाएका छन् ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसाय आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । वार्षिक रूपमा पुष्प व्यवसायको माग र आपूर्ति १० देखि १५ प्रतिशत बढ्दै गएको उहाँले बताउनुभयो ।
पुष्प व्यवसायका लागि आवश्यक पर्ने बिउ र बेर्ना आयात गर्न नसक्दा आन्तरिक कारोबारमा समस्या पर्ने गरेको उहाँको भनाइ छ । फ्यानका अनुसार आव २०८०/८१ मा तीन अर्ब ६८ करोड रुपियाँ बराबरको पुष्प व्यवसायको कारोबार भएकामा आव २०८१/८२ मा घटेर तीन अर्ब ३७ करोडको कारोबार भएको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा एक करोड दुई लाख रुपियाँको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात भएकामा आव २०८१/८२ मा बढेर दुई करोड १३ लाख पुगेको छ । यस्तै आव २०८०/८१ मा १२ करोड ७० लाख रुपियाँको आयात भएकामा आव २०८१/८२ मा २७ करोड ७९ लाख रुपियाँको आयात भएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केका युवा पुष्प व्यवसायमा आकर्षित रहेका छन् ।
पुष्प कृषकले कृषि कर्जा नपाउनु र प्लास्टिकजन्य फूलको आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा भित्रिने फूलका कारणले व्यवसाय सञ्चालन गर्न समस्या परेको पुष्प व्यवसायीको भनाइ छ । प्लास्टिकजन्य फूलको प्रयोग हुँदा स्थानीय उत्पादकलाई प्रत्यक्ष मार पर्ने गरेको व्यवसायीको भनाइ छ ।
फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायलाई प्रवर्धन गर्न पुष्प प्रवर्धन नीति कार्यान्वनमा ल्याउनुपर्ने बताउनुभयो । तिहारका बेला फूलका माला आयात गर्नुपरे पनि अन्य समयमा फूलमा आत्मनिर्भर बन्द गएको उहाँको भनाइ छ ।
आजदेखि सत्ताइसौँ फ्लोरा एक्स्पो
राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि २७ औँ फ्लोरा एक्स्पो सञ्चालन हुने भएको छ । फ्यानको आयोजनामा सो प्रदर्शनी हुन लागेको हो ।
पुष्प व्यवसायको विकास, व्यावसायिक प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले सो प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा ६५ वटा व्यावसायिक स्टल, अफिसियल स्टल ११, प्रतिस्पर्धा सटल दुई, फुड स्टल दुई, ल्यान्डस्केप स्टल एक, सेल्फी स्टल एक, बिवाइडी इभी कारको स्टल एकसहित ८३ वटा स्टल रहने छन् ।
उत्पादित फूल बिरुवाका विभिन्न विधा अन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फूल्ने बिरुवा, पुष्प सजावट, कट फ्लावरबिच प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट पुष्प व्यवसायीलाई सम्मानसमेत गरिने फ्यानले जनाएको छ ।
प्रदर्शनीमा मौसमी फूल, फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । चार दिनसम्म चल्ने मेलामा एक करोड २० लाख रुपियाँको कारोबार हुने र ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा विद्यार्थीका लागि एक सय र अन्यका लागि १५० रुपियाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । मेला आगामी आइतबारसम्म चल्ने छ ।























