कपिलवस्तु, चैत्र ५ गते । जिल्लाको कपिलवस्तु नगरपालिका २ स्थित श्री गौतमबुद्ध आधारभूत विद्यालयमा २९ जना बालबालिकालाई शैक्षिक सामग्री तथा अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेन्द्र राज लम्सालको अध्यक्षता र लुम्बिनी विकास कोषका पूर्व सदस्य राजेश ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई टोपी, स्वीटर, कापी, कलम, ड्रेस, झोला, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । अभिभावकलाई भने चामल र तेल प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुजाता सुवालको स्वागतमा भएको हो । कार्यक्रममा कार्यक्रममा वडा नं. २ का पूर्व वडाध्यक्ष राम भजन कलवार, राइट टु एक्सेस नेपालका विनोद पौडेल, वडा सदस्य नुरजहा खातुन, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा ज्ञवालीले विद्यालयलाई अझ सक्षम बनाउन स्थानीयको साथ र अभिभावकको सक्रियता आवश्यक रहेको बताए । उहाँले शिक्षामा लगानीले समाजलाई समुन्नत बनाउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखे । त्यस्तै, विनोद पौडेलले शैक्षिक सामग्री वितरण कार्यक्रमले बालबालिकाको अध्ययनमा थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।