उपभोक्ता अधिकारबारे सचेतना बढाउन अन्तरक्रिया
कपिलवस्तु । उपभोक्ताको हकहित, खाद्य स्वच्छता र गुणस्तरका विषयमा जानकारी दिने उद्देश्यले कपिलवस्तुमा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका कार्यालय प्रमुख धर्मा अर्याल बेलबासेले उपभोक्ता हित संरक्षणका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनु राज्य, व्यवसायी र सरोकारवाला सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उपभोक्तालाई सचेत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले उपभोक्ता अधिकारको विषयलाई स्थानीय तहदेखि समुदाय तहसम्म पु¥याउनुपर्ने बताउनुभयो । उहाँले बजार अनुगमन, गुणस्तर परीक्षण र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । उपभोक्ता ठगिने अवस्था अन्त्य गर्न नागरिक स्वयं पनि सजग हुनुपर्ने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण कायम रहनु आवश्यक रहेको बताउनुभयो । स्वच्छ, गुणस्तरीय र मापदण्डअनुसारका वस्तुको कारोबारले मात्रै स्वस्थ बजार प्रणाली निर्माण हुने उहाँको भनाइ छ ।
अन्तरक्रियामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयकी शाखा अधिकृत लक्ष्मी शर्माले उपभोक्ताको अधिकार, कर्तव्य, उपभोक्ता संरक्षणसम्बन्धी ऐन–कानुनमा भएका व्यवस्थालगायत विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका आनुप हलुवाईले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ पनि लक्ष्मी शर्माले दिनुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका प्रमुख सन्तोष खनाल, घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष टोपलाल पोखरेल, होटल व्यवसायी, उद्योगी लगायतको सहभागिता रहेको थियो ।























