स्वास्थ्य बीमाको दर्ता सहयोगीहरुलाई दुई दिने तालिम सुरु

कपिलवस्तु, साउन २९ ।  कपिलवस्तु जिल्लामा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनका लागि दर्ता सहयोगीहरूको क्षमता अभिवृद्धि गर्न आजदेखि दुई दिने तालिम सुरु भएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा, जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोग तथा GIZ को सहकार्यमा सञ्चालित “स्वास्थ्य क्षेत्र रणनीतिक दोस्रो (S2HSSII)” र “लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति (S2GESI)” अन्तर्गत तालिम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशकी प्रदेश संयोजक सृजना पौडेलले गर्नुभयो। प्रमुख अतिथिका रुपमा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा तथा विशिष्ट अतिथिका रुपमा महराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा सहभागी थिए।

कार्यक्रममा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, विजयनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारी, आधारभूत अस्पतालका प्रमुख डा. अमित पाण्डे, GIZ का TA बसन्त थापा, JUNIOR ADVISOR स्वस्तिका पन्त तथा मुख्य प्रशिक्षक दुर्लभकुमार बोगटीले उपस्थिति जनाएका थिए।

कार्यक्रमको उद्घाटन नगरप्रमुख अजय थापाले ब्यानर पढेर गर्नुभएको हो। तालिमको पहिलो चरणमा शिवराज नगरपालिका, महराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकाबाट कूल २९ जना दर्ता सहयोगी सहभागी भएका छन्। जिल्ला संयोजक वशिष्ठ तिवारीका अनुसार, यो तालिम तीन चरणमा गरी ६ दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई नमुना बनाउँदै प्रत्येक दर्ता सहयोगी सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए। अन्त्यमा GIZ तर्फबाट बसन्त थापाले अतिथिहरूलाई मायाको चिनो हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरिएको थियो।

प्रतिक्रिया
संबन्धित समाचार