कपिलबस्तु । कपिलबस्तुमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा यशोधरा गाँउपालिकाको सुल्तनवापुरमा महिलाहरु बिच हाजिरी जवाफ, हण्डिफोर र अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
दलित सामाजिक विकास केन्द्रको आयोजना, यशोधरा गाँउपालिकाको समन्वय र के एन एचको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको थियो । हाजिरी जबाफ प्रतियोगितामा सविता रैदास प्रथम, शुशिला रैदास द्वितीय, श्यामकली रैदास तृतीय र प्रिति रैदास सन्त्वना स्थान हासिल गरेकी थिइन् । त्यसैगरी हण्डीफोर प्रतियोगितामा बन्धना सोनार प्रथम, अकालमति बरई द्वितीय र किरण रैदास तृतीय स्थान हासिल गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् यशोधरा गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबेले लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने भन्दै हिंसासम्बन्धी घटना देखिएमा वडा कार्यालयसँग समन्वय गर्न आग्रह गर्नुभयो । हिंसा न्यूनीकरणका लागि वडा प्रतिबद्ध रहेको उहाँको भनाई छ । सामाजमा हुने कुनै पनि किसिमको हिंसालाई न्युनिकरण गर्न सबै एक जुट हुनु पर्ने उहाँले बताउनुभयो । लिंगको आधारमा कसैलाई हिंसा गर्न नहुने वडाध्यक्ष दुबेको भनाई छ ।
कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष निलम पासीले लिङ्गका आधारमा कसैलाई पनि विभेद र हिंसा गर्नु दण्डनीय अपराध भएको बताउनुभयो । महिलाको अधिकार र न्यायमा सहज पहुँच कायम गर्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
जगन्नाथ माविका प्रधानाध्यापक तिलकराम लोहारले शिक्षा र स्वास्थ्यसहित सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा परियोजना अधिकृत बिन्दवासिनी हरिजनले अभियानको उद्देश्य र महिलाहरूमा प्रविधि–मैत्री चेतनाको आवश्यकता बारे जानकारी गराएकी थिइन् । उहाँले अभियानका उद्देश्य तथा प्रविधिको सुरक्षित प्रयोगले जनचेतना अभिवृद्धि हुने र हिंसा न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रहरी चौकी मर्यादपुरका प्रमुख जीवन दिप शर्मा, वडा सदस्य रहिस मोहम्मद, सुनिता चमार लगायतको सहभागिता रहेको थियो । सूचना महिला सञ्जाल समूहकी अध्यक्ष सुशीला रैदासको अध्यक्षता, हाम्रो पहुँच परियोजनाकी सहजकर्ता गन्जेश्वरी त्रिपाठीको संचालन र सहजकर्ता मान्ती गडेरीयाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।
















