फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

कपिलबस्तु । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मायादेवी गाउँपालिकाको फुलिकामा अन्तरक्रिया तथा महिलाहरु बिच दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको सहयोग, जानकी युवा क्लब फुलिकाको आयोजना तथा प्रगतिशील युवा समाज र मायादेवी ३ को समन्वयमा गरिएको हो ।
कार्यक्रमका उद्देश्यबारे सिवाइसिसि परियोजनाका युवा संलग्नता सहायक अधिकृत परशुराम निगमले जानकारी दिँदै लैङ्गिक हिंसा रोकथाम, डिजिटल र सामाजिक हिंसाको जोखिम पहिचान, युवामा नेतृत्व विकास तथा सुरक्षित र समानतामूलक सामाजिक वातावरण निर्माण अभियानका मुख्य लक्ष्य भएको बताएका थिए ।
कार्यक्रममा वडा सदस्य शिव कुमारी रैदासले महिलामाथि हुने हिंसा समाज विकासका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै समुदायको सक्रियता बिना हिंसा न्यूनीकरण सम्भव नहुने धारणा राखेका थिइन् ।
कार्यक्रममा सहभागिहरुले शिक्षा, सचेतना र समुदायगत ऐक्यबद्धता नै लैङ्गिक हिंसा अन्त्यको प्रभावकारी माध्यम भएकोमा जोड दिएका थिए ।
अभियान अन्तर्गत आयोजित दौड प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा कली कुमारी यादव प्रथम, श्री कान्ति कोरी द्वितीय, सारदा यादव तृतीय र अनिता बनिया चतुर्थ भएका छन् ।
जानकी युवा क्लबका अनुसार १६ दिने अभियानअन्तर्गत फुलिकामा गरिएको अन्तरक्रिया तथा दौड प्रतियोगिताले स्थानीय समुदायमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना वृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
क्लब अध्यक्ष बिन्देश्वरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चन्द्रिका यादव, राजेन्द्र यादव, कलामुद्दीन मुसलमान, राजमती तेली र जयराम धोबी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
संबन्धित समाचार