दर्ता अधिकारीहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने कार्यशाला
भैरहवा, साउन २१ गते । दर्ता अधिकारीहरूको सीप अभिवृद्धि तथा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा सघाउने उद्देश्यले भैरहवाको एसियन बुद्ध होटलमा दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा, सदस्य डा. मुक्तिराम श्रेष्ठ, कार्यकारी निर्देशक डा. रघुराज काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकाल, भीम अस्पतालकी मेसु डा. शकुन्तला गुप्ता, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेसु डा. विवेक ढकाल, रण अम्बिका आँखा अस्पतालका प्रतिनिधि प्रकाश रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशनलाल चौधरी, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका प्रतिनिधि गणेश ज्ञवाली तथा प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ शिक्षा तथा स्वास्थ्य प्रशासक नोद नारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।
यसका साथै, कार्यक्रममा सहभागी जि आई जेड नेपालका कार्यक्रम सह–संयोजक तिर्थ सिन्हाले संस्थाले नेपालमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि गरिरहेका प्रयासबारे जानकारी गराउँदै, दर्ता प्रणालीको सशक्तिकरणमा सहकार्य गर्दै आइरहेको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम नेपाली नागरिकका लागि जोखिम न्यूनीकरण गर्ने महत्वपूर्ण सरकारी योजना हो, जसको उद्देश्य आम नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यो योजना विशेषगरी आर्थिक रूपले कमजोर वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नियमित स्वास्थ्य सेवामा पहुँच नपुगेका समुदायहरूलाई लक्षित गरिएको छ ।
नेपालमा स्वास्थ्य बीमा प्रणाली अझै प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्नुमा जनचेतनाको अभाव, दर्ता प्रक्रियामा रहेको जटिलता, स्थानीय तहमा प्राविधिक जनशक्तिको कमी तथा दर्ता अधिकारीहरूको दक्षताको अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन् । यसै सन्दर्भमा, दर्ता अधिकारीहरूको क्षमता अभिवृद्धि गर्दै बीमा दर्ता, नवीकरण, दाबी प्रक्रिया र बीमितका अधिकार सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नु गोष्ठीको प्रमुख उद्देश्य हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी प्रदेश संयोजक सृजना पौडेलले प्रदेशमा स्वास्थ्य बीमाको वर्तमान अवस्था, बीमितको सहभागिता दर, दर्ता दर र सेवा उपलब्धताका पक्षहरूबारे तथ्यात्मक प्रस्तुति दिनुभयो । उहाँले बीमाको पहुँच विस्तारका लागि स्थानीय सरकारसँग समन्वय आवश्यक रहेको औंल्याउनुभयो ।
जि आई जेड नेपालका सह–संयोजक तिर्थ सिन्हाले जिआईजेडले नेपालमा गर्दै आएको प्रविधि हस्तान्तरण, नीति सहजीकरण तथा तालिम कार्यक्रमबारे प्रस्तुति दिँदै दर्ता सहयोगीहरू सँगको सहकार्यबाट सकारात्मक परिणाम आएको जानकारी दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य कपिलवस्तु जिल्लाका जिल्ला संयोजक वशिष्ठ तिवारीले व्यक्त गर्नुभएको थियो भने सञ्चालन रुपन्देही जिल्लाका जिल्ला संयोजक राजु चौधरीले गर्नु भएको थियो । गोष्ठीको प्रमुख प्रशिक्षण विशेषज्ञ दुर्लभ कुमार वोगटीले सञ्चालन गर्नुभएको हो ।
कार्यक्रममा सहभागी अतिथिहरूले आ–आफ्नो धारणा राख्दै स्वास्थ्य बीमालाई सफल बनाउन दर्ता प्रणालीमा कार्यरत जनशक्तिको दक्षता वृद्धि, सेवा प्रवाहमा पारदर्शिता, प्रविधिको अधिकतम प्रयोग तथा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।
जिआईजेड नेपालले यसअघि पनि विभिन्न जिल्लाहरूमा दर्ता सहयोगी लक्षित प्रेरणामूलक गोष्ठीहरू सञ्चालन गर्दै आइरहेको छ, जसबाट कार्यक्रम सञ्चालनमा सघाउ पुगेको बताइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यशालाले दर्ता अधिकारीहरूको ज्ञान, सीप र व्यवहारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसबाट बीमित नागरिकको सेवा प्राप्तिमा सहजता आउने, स्वास्थ्य सेवामा पहुँच बढ्ने र सरकारको बीमा कार्यक्रम प्रति आम नागरिकको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ ।































