सहकारीको लापरबाहीले किसानले मल पाएनन्
परासी । नवलपरासीमा आएको मल अझै पनि अधिकांश सहकारीहरूले लगेका छैनन्। जसका कारण किसानहरूले मल पाउन नसकेका हुन्।
कृषि सामग्री कम्पनी परासीमा गत साउन १९ गते पठाइएको युरिया मल अहिलेसम्म जिल्लाका अधिकांश सहकारीले लगेका छैनन्। सहकारीले मल लगेरनलगेको बारे स्थानीय तहले समेत चासो देखाएका छैनन्। स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको संयोजकत्वमा स्थानीय मल आपूर्ति तथा वितरण समिति छ।
समितिले आफ्नो पालिकामा मल वितरण गर्नका लागि सहकारीहरूलाई जिम्मेवारी दिएको छ। त्यसरी जिम्मेवारी तोकिएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री गर्ने गरेका छन्। तर कृषि सामग्री कम्पनी परासीको गोदाममा मल आएको हप्ता दिन बित्न लाग्दा समेत अधिकांश सहकारीले मल लैजान वास्ता नगर्दा किसानहरू समस्यामा परेका हुन्।
लुम्बिनी प्रदेश मन्त्रालयमार्फत् कृषि सामग्री कम्पनी परासीमा २१५ मेट्रिक टन युरिया मल पठाइएको कम्पनीका शाखा प्रबन्धक ताराप्रसाद खनालले जानकारी दिए। पालिकाहरूले कोटा निर्धारण गरेर पठाएको आधारमा कम्पनीले सहकारीलाई मल उपलब्ध गराउँदै आएको छ। अहिलेसम्म जम्मा ७९ दशमलव ८ मेट्रिक टन मात्र मल सहकारीहरूले लगेका छन्। गोदाममा अझै १३५ दशमलव २ मेट्रिक टन मल बाँकी रहेको खनालले बताए। सात पालिकाका ७९ सहकारीमार्फत किसानलाई मल उपलब्ध गराउँदै आइएको छ। आज मंगलबार बिहानसम्म ३४ वटा सहकारीले मात्र मल लगेका छन्। अरूले लगेका छैनन्।
सहकारीहरूले मल नलगेको बारे रामग्राम नगरपालिकाकी उपप्रमुख चौधरीले सहकारीहरूले मल लैजान ढिला गरेको बारे आफूले जानकारी पाएको बताउँदै तत्काल लैजानका लागि ताकेता गर्ने बताइन्। ‘केही सहकारीले रकम नभएर नलगेको भनेका छन्। अरूले किन लगेनन् बुझेर तत्कालै लैजान ताकेता गर्छौ। ’ चौधरीले भनिन्।
सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले सहकारीहरूलाई तत्काल मल ल्याउनका लागि भनिएको बताइन्। ‘पैसा जम्मा गर्न लगाएर तत्कालै मल ल्याउने व्यवस्था गर्छौ। ’ उनले भनिन्। सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले आफ्नो पालिकाका धेरैजसो सहकारीले मल ल्याएको बताउँदै केही बाँकी भए उनीहरूलाई समेत आज भोलि ल्याएर वितरण गर्न लगाउने बताइन्।
केही स्थानीय तहमा भइरहेको मल वितरण प्रणाली नै गलत भएको किसानहरूले बताएका छन्। केही स्थानीय तहले वडाध्यक्षको कुपनबाट किसानलाई मल वितरणको व्यवस्था गरेका छन्। केही स्थानीय तहहरूले भने सहकारी र सम्बन्धित डिलरमार्फत किसानलाई मल उपलब्ध गराउँदै आएका छन्। वडाध्यक्षले कुपन काटेर मल वितरण गर्दा आफू निकटका व्यक्तिलाई मात्र दिने गरेको आरोप आउने गरेको छ। सबैभन्दा अपारदर्शी वडाध्यक्षमार्फत वितरण हुने कुपन प्रणालीबाट हुने गरेको किसानको समेत गुनासो छ। साभार अन्नपूर्णपोस्ट































