कपिलवस्तुमा जिल्ला समन्वय समितिको नवौँ वार्षिक समीक्षा
कपिलवस्तु , साउन २८ गते । जिल्ला समन्वय समिति, कपिलवस्तुको आयोजनामा तीन दिनसम्म चाल्ने नवौँ वार्षिक समीक्षा कार्यक्रमको दोस्रो दिन मंगलबार सम्पन्न भएको छ। साउन २७ देखि २९ गतेसम्म जिल्ला समन्वय समिति सभाहलमा सञ्चालन भइरहेको कार्यक्रममा स्थानीय तह, सरकारी कार्यालय र गैरसरकारी संस्थाहरूको वार्षिक प्रगति तथा आगामी आर्थिक वर्ष २०८२/८३ का योजनाबारे प्रस्तुतिकरण गरिएको थियो।
दोस्रो दिनको सत्रमा जिल्लास्थित सरकारी कार्यालयहरूले अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन र नयाँ वर्षमा गर्ने कार्यक्रमबारे जानकारी प्रस्तुत गरे। पहिलो दिन स्थानीय तहहरूले गरेका कामहरूको समीक्षा गरिएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य नवराज लामिछानेले बजेट र योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशसम्मको एकढिक्का प्रयास जरुरी रहेको उल्लेख गरे। उनका अनुसार, “जनताको आवश्यकता बुझेर योजना निर्माण र कार्यान्वयन गर्दा मात्र विकासको गति तीव्र हुन्छ।
” जिल्ला समितिका प्रमुख बाबुराम आचार्यले जिल्लाको विकास र समन्वयलाई अझ प्रभावकारी बनाउन सबै तह र निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। “वार्षिक समीक्षाले विगतको कमजोरी सुधार्न र आगामी कार्ययोजना स्पष्ट पार्न मद्दत गर्छ,” उनले भने।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला समन्वय अधिकारी जर्नदन अधिकारी प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।































