दलित सामाजिक विकास केन्द्रको २१औँ वार्षिकोत्सवमा रक्तदान, १४ जनाले गरे रक्तदान
कपिलवस्तु । दलित सामाजिक विकास केन्द्र डंगरी, कपिलवस्तुको २१औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा स्थानीय युवादेखि समाजसेवीसम्मको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले रक्तदान जीवनदान मात्र नभई मानवताप्रतिको सच्चा सेवाको प्रतीक भएको बताए। उनले भने, “सामाजिक कार्यमा सबैको सहभागिता अत्यावश्यक छ। रक्तदानले जीवन बचाउँछ र यसले हाम्रो संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ सबल बनाएको छ।”
रैदासले आगामी दिनमा पनि दलित सामाजिक विकास केन्द्रले समाजहितमा विविध कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण रक्तदातादेखि प्राविधिक सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुसम्मलाई धन्यवाद व्यक्त गरेको छ।































