कपिलबस्तु, भदौं ५ गते । आ.व. २०८१÷८२ को समग्र मूल्याङ्कनका आधारमा कपिलवस्तु जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय यस त्रैमासिकमा सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कार्यालय प्रमुख सन्तोष खनाललाई उत्कृष्ट कार्य सम्पादन गरेको प्रमाणस्वरूप प्रमाणपत्र समेत प्रदान गर्नुभएको हो ।
प्रमाणपत्र ग्रहणपछि कार्यालय प्रमुख खनालले सम्पूर्ण कर्मचारी, सेवाग्राही, उद्योग–व्यवसायी तथा सरोकारवालाप्रति आभार प्रकट गर्दै भने, “यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण कर्मचारीको प्रतिबद्धता, सेवाग्राहीको विश्वास र सरोकारवाला निकायहरूको निरन्तर मार्गदर्शनकै नतिजा हो । आगामी दिनमा अझ पारदर्शी र प्रभावकारी सेवाप्रवाह गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।”
घरेलु तथा साना उद्योग कार्यालयले बजार तथा उद्योग अनुगमन, बजेट कार्यान्वयन, उद्योग–व्यवसायीलाई आवश्यक परामर्श तथा तालिम प्रदान गर्दै आएको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक लगायतका सरकारी निकायहरूको निरन्तर समन्वय र सहयोग महत्त्वपूर्ण रहेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासनका अनुसार मूल्याङ्कनमा सेवाप्रवाहको गुणस्तर, समयमै कार्यक्रम कार्यान्वयन, पारदर्शिता, समन्वय र प्रतिवेदन व्यवस्थापन जस्ता सूचकलाई आधार मानिएको हो । ती सबै सूचकमा घरेलु तथा साना उद्योग कार्यालयले उल्लेख्य प्रगति हासिल गरेपछि यस त्रैमासिकमा सर्वोत्कृष्ट कार्यालयको मान्यता पाएको हो ।