काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटका लागि हङकङ र बङ्गलादेशको टोली घोषणा भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि हङकङले २० सदस्यीय र बङ्गलादेशले १६ सदस्यीय टोली घोषणा गरेका हुन् । हङकङको कप्तानी यसिम मुर्तजा र बङ्गलादेशको कप्तानी लिटन दासले गर्नेछन् ।

एशिया कपका लागि यसअघि साविक विजेता भारत र पाकिस्तानले टोली घोषणा गरिसकेका छन् । प्रतियोगिताका लागि अब अफगानिस्तान, ओमान, श्रीलङ्का र यूएईले टोली घोषणा गर्न बाँकी छ ।

८ वटा देश सहभागी एशिया कप आउँदो सेप्टेम्बर ९ देखि २८ सम्म हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का छन् ।