कपिलवस्तु भदौ १६ गते। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा विगत वर्षभरिका कार्यक्रम, उपलब्धि र चुनौतीबारे समीक्षा गरिनुका साथै आगामी वर्षका लागि कार्ययोजना र प्राथमिकता तय गरिएको थियो। सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषयमा कठोर मात्र नभई सुधारमुखी कदम आवश्यक रहेको बताउनुभयो। उहाँले अनुगमनलाई अझ प्रभावकारी बनाउन जिल्ला प्रशासन सदैव तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खनालले उद्योगी–व्यवसायीलाई सचेतनाको माध्यमबाट जिम्मेवार बनाउन जोड दिनुभयो भने, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश क्षेत्रीले कारबाहीभन्दा पनि सचेतनामा जोड दिनुपर्ने र दर्ता तथा नवीकरणमा देखिएका समस्या समाधानका लागि सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मीले स्वास्थ्यसँग खेलवाड गर्ने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।
आयोजक प्रमुख अनुप हलुवाईले खाद्य गुण नियन्त्रण कार्यालय केवल नियमन गर्ने मात्र नभई सचेतना र सुधारमुखी काममा समेत अग्रसर रहने जानकारी दिनुभयो।
प्रस्तुतीकरण गर्दै अनुसन्धान अधिकृत हेमन्त गौतमले खाद्य सुरक्षासम्बन्धी कार्य, अनुगमन, प्रयोगशाला परीक्षण तथा सचेतना कार्यक्रमबारे जानकारी दिनुभयो। त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तौलीहावाका प्रमुख सरोज खनालले पनि गत आर्थिक वर्षको प्रगतिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सम्बन्धित निकायका अधिकारी, सरोकारवालाहरू, स्थानीय प्रतिनिधि तथा उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।