कपिलवस्तुमा निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान
कपिलवस्तु । कपिलवस्तु निर्माण व्यवसायी सङ्घले निर्माण दिवसको उपलक्ष्यमा अग्रज निर्माण व्यवसायीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघले यस वर्ष आजाद आमद दर्जी, अशोककुमार गुप्ता र विष्णुप्रसाद खनाललाई निर्माण क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानपत्र प्रदान गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिनेश हमालले निर्माण क्षेत्रको संस्थागत बलियोकरणका लागि सबै व्यवसायी एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले निर्माण व्यवसायीको हक–हित संरक्षणलाई सङ्घले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, कपिलवस्तु निर्माण व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार अर्यालले निर्माण दिवसको अवसरमा संघले हरेक वर्ष सामाजिक उत्तरदायित्वसँग जोडिएका गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। “अग्रजहरूको योगदान सम्मान गर्दै नयाँ पुस्तालाई उत्साहित बनाउने लक्ष्यसहित हामीले यो कार्यक्रम आयोजना गरेका हौँ,” अध्यक्ष अर्यालले भन्नुभयो।
कार्यक्रममा पूर्व उपाध्यक्ष राजेश ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संघका सचिव रमेश मिश्राले गर्नुभएको थियो।
कार्यसमिति पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थीयो।


















