मायादेवीमा मतदातासँग भेटघाट गर्दै अतहर कमाल
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अतहर कमाल मुसलमानले मायादेवी गाउँपालिका का विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट तथा छलफल गर्नुभएको छ। घरदैलो कार्यक्रमअन्तर्गत उहाँले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्नुभएको हो।
उम्मेदवार मुसलमानले कृषि, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताका आधारभूत आवश्यकता पूरा गर्ने दिशामा योजनाबद्ध ढङ्गले अघि बढ्नेछु,” उहाँले भन्नुभयो, “कृषकको उत्पादनलाई बजारसँग जोड्न, युवालाई रोजगारीका अवसर सिर्जना गर्न र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विशेष पहल गर्नेछु।”
भेटघाटका क्रममा स्थानीयले सिंचाइ सुविधा अभाव, ग्रामीण सडक स्तरोन्नति, विद्यालयमा भौतिक पूर्वाधार सुधार तथा स्वास्थ्य चौकीमा जनशक्ति अभावजस्ता विषय उठाएका थिए। उम्मेदवार मुसलमानले ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी पहल गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।































