तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.५ को आयोजनामा ‘तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नगरप्रमुख सुदीप पौडेलले खेलकुद क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै युवाहरूलाई खेलमार्फत सकारात्मक दिशातर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले नगरपालिकाले खेलकुद पूर्वाधार विकासमा पनि जोड दिने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दिरेप चौधरी ले खेलकुदले युवालाई अनुशासित र स्वास्थ्यप्रति सचेत बनाउने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वडास्तरमा खेलकुद गतिविधि निरन्तर सञ्चालन गरिने पनि जानकारी दिनुभयो।
कार्यक्रममा वडा सदस्य, स्थानीयवासी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा सात वटा टिमले सहभागिता जनाएका छन् भने प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।































