एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश
कपिलवस्तु, भदौ ८ गते । जिल्लाको विजयनगर गाउँपालिकामा नेकपा (एमाले) बाट निर्वाचित दुई जना जनप्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवार मोहम्मद मुसलमान रास्वपामा प्रवेश गरेका हुन् । उनीहरू दुवै जना एमालेबाट दुई कार्यकाल निर्वाचित जनप्रतिनिधि हुन् ।
उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानले यही भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको बताइएको छ । स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालिरहेकै अवस्थामा उनीहरूले अर्को राजनीतिक दल रोजेका हुन् ।
उपाध्यक्ष चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्ष समेत रहनुभएको थियो । त्यस्तै, वडाध्यक्ष मुसलमान नेपाल मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत हुनुहुन्छ ।
वडाध्यक्ष मुसलमानले आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पुष्टि गर्नुभयो । नयाँ राजनीतिक यात्राका लागि रास्वपा रोजेको उहाँको भनाइ छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष शिवकुमार सुवेदीले यस विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो । पार्टी खुला प्रकृतिको रहेको र डिजिटल माध्यमबाट समेत सदस्यता लिन सकिने भएकाले केन्द्र मार्फत सदस्यता लिएको हुन सक्ने उहाँले बताउनुभयो ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले पनि गाउँपालिकाकी उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमान रास्वपामा प्रवेश गरेको विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताउनुभयो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













