आधारभूत शैक्षिक तालिम सम्पन्न
कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा कक्षा २ मा नेपाली विषय अध्यापन गर्ने शिक्षक लक्षित पाँचदिने आधारभूत शैक्षिक तालिम सम्पन्न भएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको आयोजनामा कपिलवस्तु, बुद्धभूमि नगरपालिका तथा मायादेवी गाउँपालिकाका ४८ विद्यालयका ५१ जना शिक्षकलाई तालिम प्रदान गरिएको हो ।
शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन ती तीन पालिकाका प्रत्येक १६/१६ विद्यालयमा एक वर्षदेखि रुम टु रिडको कार्यक्रम सञ्चालन हुँदै आएको छ । “शिक्षित बालबालिका भए नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने मूल नारासहित कक्षा २ का विद्यार्थी लक्षित पहिलो चरणको कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका अवसरमा बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिम सान्दर्भिक रहेको उल्लेख गर्दै आगामी दिनमा यसले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । साथै, कार्यक्रममा पालिकाको समेत लगानी रहेको र आगामी वर्षमा लगानी अझ वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो ।
रुम टु रिडको साक्षरता कार्यक्रमका दिनेश पोखरेलले पालिका र शिक्षकहरूको सामूहिक प्रयासले एक वर्षमै सकारात्मक परिणाम देखिन थालेको बताउनुभयो । उहाँले सिकाइ सामग्री तथा विधिलाई निरन्तर परिमार्जन गरिँदै लगिएको जानकारी दिँदै आधारभूत तहमा पालिकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेको अध्यक्षता तथा सुमित्रा भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । तालिममा सहभागी शिक्षकहरूले तालिमबाट बालबालिकालाई प्रभावकारी रूपमा पठनपाठन गराउने विधिबारे उपयोगी ज्ञान हासिल भएको बताएका छन् ।































