कपिलवस्तु, ५ मङ्सिर । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेयले कपिलवस्तुको ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कोषमा पदभार ग्रहण गरेको दुई दिनपछि शुक्रबार उहाँहरूसहितको टोलीले कपिलवस्तुका तीन महत्वपूर्ण बौद्ध पुरातात्विक स्थल तिलौराकोट, निग्रोधराम (कुदान) र गोटिहवाको अवलोकन तथा निरीक्षण गरेको हो।

अवलोकनका क्रममा नवनियुक्त उपाध्यक्ष डोल्मा र सदस्य–सचिव पाण्डेयले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्मको पहल गर्ने र यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिनुभयो।

उप्रेतीका अनुसार अध्ययन तथा अनुसन्धान टोलीले लामो समयदेखि आवश्यक प्रमाण र दस्तावेजसहितको डोसियर तयार गरी पेस गरे पनि तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेको छैन। उहाँले भ्रमण टोलीलाई यसको पछाडि राजनीतिक कारणसमेत रहेको जानकारी गराउँदै सूचीकृत प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकारबाटै ठोस पहल आवश्यक रहेको बताउनुभएको थियो।

नवनियुक्त पदाधिकारीले कपिलवस्तुका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मौलिकता र महत्वमा नकारात्मक प्रभाव नपर्ने गरी संरक्षण तथा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले बुद्धस्थलको संरक्षण र विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर अघि बढ्नसमेत निर्देशन दिनुभएको उप्रेतीले बताउनुभयो।

टोलीले लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई कपिलवस्तुका बुद्धस्थलसम्म पुग्ने वातावरण बनाउन एकीकृत योजनाका साथ विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। त्यसका लागि आवश्यक पूर्वाधार तथा पर्यटकमैत्री सुविधा विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ती सम्पदाको प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको थियो।

भ्रमणका क्रममा पुरातत्व अधिकृत उप्रेतीले ती सम्पदाको ऐतिहासिक पृष्ठभूमि, पुरातात्विक महत्व, हालसम्म भएका संरक्षणका काम तथा विकास गतिविधिबारे टोलीलाई जानकारी गराउनुभएको थियो।

टोलीमा कोषका नवनियुक्त दुई परिषद् सदस्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, इन्जिनियर अफजल पठानलगायत सहभागी हुनुहुन्थ्यो।

ऐतिहासिक मान्यताअनुसार तिलौराकोट भगवान् गौतम बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद हो। निग्रोधराम (कुदान) बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक परिवारका सदस्यसहित सयौँलाई भिक्षुसङ्घमा प्रवेश गराएको स्थलका रूपमा परिचित छ भने गोटिहवा क्रकुच्छन्द बुद्धको जन्मस्थलका रूपमा मानिन्छ।