कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक दीपक कुँवरलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ।

सङ्गठनको नीति तथा निर्देशनअनुसार सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक निर्वाह गरेको भन्दै कुँवरलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धानमार्फत समाजमा शान्तिसुरक्षा कायम गर्न र आमनागरिकमा प्रहरी सङ्गठनप्रतिको विश्वास अभिवृद्धि गर्न पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीद्वारा हस्ताक्षरित कदरपत्रमार्फत कुँवरलाई उत्कृष्ट प्रहरी छनोट भएकामा बधाई तथा सम्मान व्यक्त गरिएको छ।