काठमाडौं : नेपाल यातायात राष्ट्रिय महासंघ र यातायातसम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।
गत असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरी सो निर्णय खारेज नभए स्वतस्फुर्तरुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
सोही विषयमा विहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै ४ दिनको समय मागेका थिए ।
प्रजिअले केही समय मागेकाले आफुहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनले भन, ‘जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले २१ गतेसम्म पर्खिन सहमत भएका हौं ।
अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गतेदेखि सबै सवारीसाधन सञ्चालन गर्ने बताए ।
तपाईको प्रतिक्रिया !