वीरगञ्ज : वीरगञ्ज झण्डै २ महिनाभन्दा लामो समयदेखि पर्सा जिल्लामा निषेधाज्ञा थप खुकुलो भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी पर्साको आइतवार बसेको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आन्तरीक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसीका संयोजक पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।
जिल्लामा जारी निषेधाज्ञाका कारण कोरोना भाइरसको संक्रमण दर कम भएको ठहर गर्दै पूर्व निर्णयमा केही परिमार्जन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको डिसिसिएमसीको बैठकमा सहभागी जनता समाजवादी पार्टी जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए ।
बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरुलाई भने बन्द राख्ने निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरु, विद्यालय, कलेज, ट्युशन सेन्टर आदिलाई पनि हाललाई बन्द नै राख्नुपर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी लामो दुरीका एवम् जिल्ला बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारी साधनलाई पनि सञ्चालन गर्न रोक लगाइएको बैठकमा सहभागी नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताए ।
यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ ।
बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ ।
तपाईको प्रतिक्रिया !