रुसमा २८ जना सबार विमान दुर्घटना : समुद्रमा डुबेको आशंका

एजेन्सी : रुसको सुदूर पूर्वमा २८ जना मानिसहरु बोकेको यात्रुवाहक विमान मंगलबार दुर्घटनामा परेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार एन–२६ मोडलको उक्त विमान दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको छ ।

विमानमा २२ जना यात्रु र ६ जना चालकदलका सदस्यहरु थिए ।

विमान क्षेत्रीय राजधानी पेट्रोपाभलोभ्स्क–कम्चाटस्काइबाट पलानाको लागि उडेको थियो ।

कमचाटका पेनिन्सुलाको एक गाउँबाट विमानसँगको सम्पर्क टुटेको थियो ।

रुसको नागरिक उड्डयन प्राधिकरणले पनि उक्त विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

प्रधाकरणका अनुसार दुर्घटनास्थल पत्ता लगाइसकिएको छ । रोयटर्सका अनुसार यो विमान समुद्र र जमिनको सीमाक्षेत्रमा दुर्घटना भएको हो ।

तर, बीबीसीले भने यो विमान समुद्रमा दुर्घटना भएको बताएको छ ।

रुसको आपतकालीन मन्त्रालयका अनुसार उक्त विमानमा पलानाका मेयर ओल्गा मोखिरेभा पनि सवार थिए ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार मौसम सफा नभएकाले उक्त विमान दुर्घटनामा परेको हुन सक्ने बताएका छन् ।

मंगलबार विमान हराउँदा उक्त क्षेत्र बादलले ढाकिएको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार