एजेन्सी : हैटीका राष्ट्रपति जोभेनेल मोसेको हत्या आरोपमा प्रहरीले गोली हानेर चारजना शंकास्पद व्यक्तिलाई मारेको छ ।
यसैगरी दुईजना हिरासतमा छन् । देशको राजधारी पोर्ट एयु प्रिन्समा प्रहरी अझै पनि बाँकी शंकास्पदहरुसँग भिडिरहेको छ । ‘उनीहरुलाई मारिनेछ वा पक्राउ गरिनेछ,’ प्रहरी प्रमुख लियोन चाल्र्सले भने ।
५३ वर्षका मोसेको बुधबार राष्ट्रपतिको निजी निवासमा गोली हानेर हत्या भएको थियो भने उनकी पत्नी आक्रमणमा घाइते भएकी छिन् ।
पहिचान नखुलेका बन्दुकधारीहरु राजधानी स्थित मोसेको निवासमा स्थानी समयअनुसार १ बजे छिरेका थिए ।
यस घटनामा घाइते भएकी राष्ट्रपति पत्नीलाई उपचारका लागि फ्लोरिडा लगिएको छ ।
उनी गम्भिरमा अवस्थामा छिन् । ‘चारजना बन्दुकधारीलाई मारिएको छ र दुईजना शंकास्पदहरु हाम्रो नियन्त्रणमा छन्,’ चाल्र्सले बुधबार टेलिभिजनमार्फत भनेका छन्,‘कब्जामा लिइएका तीनजना प्रहरीहरुको उद्धार गरिएको छ ।
अपराधी घटनास्थलबाट भागे लगत्तै हामीले त्यसलाई नियन्त्रणमा लिएका थियौं । त्यसयता, हामी उनीहरुसँग निरन्तर लडाइँमा छौं ।’
यस हत्याकाण्ड लगत्तै हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जनतासँग शान्त रहन अपिल गरेका छन् ।
उनले राष्ट्रव्यापी संकटकाल पनि घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलगायत नेताहरुले घटनाको निन्दा गरेका छन् ।
२०१७ देखि हैटीको राष्ट्रपति रहेका मोसेविरुद्ध पछिल्लो समय देशमा प्रदर्शन भइरहेको थियो । प्रदर्शनकारीले उनको राजीनामा मागिरहेका थिए ।
तपाईको प्रतिक्रिया !