प्रदेश २ का प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिकलाई डेढ करोड दिने सहमती

जनकपुरधाम : प्रदेश २ सरकार र प्रतिपक्षी नेकपा एमाले र माओवादीबीच चलिरहेको रस्साकस्सी साम्य हुने देखिएको छ ।

निर्वाचनक्षेत्र विकास कार्यक्रमका लागि रकम बढाउने सहमती भएपछि सरकार र विपक्षीबीच प्रदेशसभामा देखिएको घमासान अन्त्य हुने भएको हो ।

निर्वाचनक्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई अढाई करोड दिनुपर्ने माग गर्दै गएको असार १ गते माओवादी र एमालेका सांसदहरुले सरकारलाई बजेट टेबल गर्न रोकेका थिए ।

तर मुख्यमन्त्री लालबाबु राउतले रकम बढाउने आश्वासन दिएपछि आथिर्क मामिला तथा योजनामन्त्री विजय कुमार यादवले राति करिब पौने १० बजे बजेट टेबल गरेका थिए ।

त्यसयता निर्वाचनक्षेत्र विकास कार्यक्रमको रकम बढाउने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षी एमाले र माओवादीबीच पटक पटक छलफल समेत भएको थियो ।

छफलको क्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई डेढ करोड दिने सहमती भएको एमालेका एक सांसदले जनकप्ुरप्रेसलाई जानकारी दिए ।

‘लिखितै सहमती त भइसकेको छैन तर हाम्रा दलका नेताले प्रत्यक्षलाई ४ करोड र समानुपातिकलाई डेढ करोड दिने सरकारसँग सहमती भएको जानकारी गराउनुभएको छ । तर मौखिक सहमतीको भर पनि छैन,’ उनले भने ।

यद्धपी यसबारे ठोष निर्णय भने भइनसकेको माओवादीका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।

‘सत्ता पक्षले २५/५० लाख बढाउने कुरा गरिरहेको छ । तर कति बढाउनेबारे हामीसित ठोस सहमती भएको छैन् । छलफल चलिरहेकै छ,’ उनले भने ।

सहमती भएकै कारण प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि हुने छलफलमा प्रतिपक्षीले समेत विरोध नगर्ने बताइएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार