रोहित महतो
जनकपुरधाम, असार ३० गते ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २३ वर्षीया प्रियंका पासवानलाई श्रीमानले नै हत्या गरेको खुलेको छ ।
गएको १४ असारको राति शंकास्पद मृत्यु भएको भनिएको प्रियंकालाई घाँटी थिचेर उनका श्रीमान् सन्तोष पासवानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रियंका ४ महिनाकी गर्भवती थिइन् । सन्तोषको परस्त्रीसँग समबन्ध रहेको थाहा पाएपछि उनीहरूबीच पछिल्लो समय विवाद हुँदै आएको थियो ।
ट्याक्टर चालक रहेका सन्तोष एक वर्षअघि विदेशबाट फर्केका थिए । त्यसैबेलादेखि सन्तोष छिमेकी गाउँकी एक महिलासँग सम्बन्धमा रहेको प्रहरीसँग स्वीकारेका छन् ।
परस्त्रीसँग सम्बन्ध रहेको प्रियंकाले थाहा पाएदेखि उनीहरूबीच दिनहुँजसो झगडा हुँदै आएको थियो । राति करिब ११ बजे सुत्ने बेलासमेत सोही विषयमा विवाद भएपछि सन्तोषले प्रियंकाको हत्या गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
प्रहरीकाअनुसार त्यस रात सन्तोष रक्सी पिएर बेलुकी करिब ८ बजे घर आएका थिए । ‘राति करिब ११ बजे सुत्ने बेला बेडमै बूढाबूढीबीच विवाद भएछ । त्यसपछि सुतेकै ठाउँमा सन्तोषले सलले थिचेर मारेछ,’ ती प्रहरीले भने ।
महोत्तरीको वलवा नगरपालिका–५ की प्रियंकाका बुवा विनोद पासवानले यसअघिसमेत सन्तोषले छोरीलाई पटक(पटक कुटपिट गरेको बताए । ‘पहिले पनि धेरैपटक कुटेका थिए । मार्ने प्रयास पनि गरेका थिए । अहिले मारेरै छाडे,’ उनले भने ।
हत्या गरेर श्रीमती बिरामी परेको नाटक
घटनाको दिन कामको सिलसिलामा भन्दै बिहान पाँचै बजे घरबाट निस्केका थिए, सन्तोष ।
उनी राति साढे ८ बजे मात्र फर्किए । यसरी घरबाट चुपचाप निस्किने र दिनभर सम्पर्कमै नआउने सन्तोषको व्यवहारले श्रीमति प्रियंका आजित भइसकेकी थिइन् ।
१४ असारको बेलुकीसमेत त्यसै विषयले विवाद सुरु भयो ।
‘बिहानै उठेर जाने अनि दिनभर अत्तोपत्तो रहँदैन । मेरो त वास्तै छैन भनेर प्रियंकाले कडा बोल्दै असन्तुष्टि पोखेपछि विवाद सुरु भएछ,’ अनुसन्धानमा संलग्न प्रहरीले भने ।
सन्तोषले प्रहरीसँग बताएअनुसार रोटी पकाएर राखेकी प्रियंका श्रीमानलाइ आफैँ ल्याएर खानु भन्दै सुत्न गइन् । सन्तोष पनि झोँक देखाएर नखाइ सुत्न गए । ‘बेडमा पनि उनीहरूबीच झगडा भयो । आवेगमा आएर सन्तोषले घाँटी थिचेर मारेको स्वीकारेका छन्,’ ती प्रहरी भन्छन् ।
प्रियंकालाई मारेलगतै उनले घरका सदस्य र छिमेकीलाई पनि बोलाए । ३र४ दिनदेखि श्रीमती बिरामी परेको र एकाएक बोल्न छोडेको भनी छिमेकी तथा प्रहरीलाई पनि रुँदै बताए । तर, घटना शंकास्पद देखेपछि प्रहरीले तुरून्तै उनलाई नियन्त्रणमा लियो ।
‘बिरामी भएर बोल्दै-बोल्दैन भनेर छिमेकी र नजिकैको मेडिकल पसलेलाई बोलाएका थिए । सुरुमा घाँटी थिचेको डाम पनि थिएन । एक घण्टापछि डाम देखियो,’ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले भने, ‘डाम देखिन थालेपछि बूढीलाई ३र४ दिनदेखि घाउ भएको थियो । औषधि पनि खाइरहेकी थिइन् भनेर सन्तोषले कुरा बनाउन थाले । तर, औषधि खोज्दा नभेटिएपछि भेद खुलिहाल्यो ।’
प्रहरीका अनुसार पक्राउ पर्नसाथै सन्तोषले श्रीमतीलाई हत्या गरेको स्वीकारेका थिए ।
तपाईको प्रतिक्रिया !