काठमाडौं : आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा शपथ खाएको भोलिपल्टै बालुवाटारको सरकारी जग्गा अपचलनको मुद्दामा फरार रहेका उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
गच्छदार अदालतले जारी गरेको म्याद गुजारेर फरार रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए। उनको नाममा पुनस् म्याद जारी गरेको थियो। अदालतले दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो।
यसअघि सुनसरीमा म्याद तामेल भएको थियो । तर, उक्त तामेल अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो। उक्त आदेशपछि काठमाडौंको स्थायी ठेगानामा तामेल गरिएको थियो ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।
प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँच ÷पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
५० करोड भन्दा बढी बिगो माग दाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको थियो ।
गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए ।
देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।
तपाईको प्रतिक्रिया !