महोत्तरी : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक) मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका– ५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।
रणभीम गण प्रकौली ९ख० गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा आज बिहान ३ देखि ६ बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ बजे आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ५ बजेतिर आफैँले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
सिपाही तामाङले के–कति कारणले आफैँलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।
उनको मृत शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको जनाइएको छ । रासस
तपाईको प्रतिक्रिया !