कपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी विभाजित नभई केही स्वार्थी र महत्त्वाकांक्षी तत्वहरू छुट्टिएको बताएका छन् ।
रुपन्देहीमा आयोजित बृहत् कार्यकर्ता भेलालाई बुधवार सम्बोधन गर्दै पौडेलले एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि सफल हुन नदिने बताए ।
पौडेलले केही समय पार्टीभित्र स्वार्थकेन्द्रित लडाइँ भएको बताए । माधवकुमार नेपालले आफ्नै पार्टीको सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आत्मघाती काम गरेको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको पछि केही झुण्डहरू लागेको बताउँदै उनीहरूबारे धेरै टिप्पणी र चिन्ता गर्नु नपर्ने उल्लेख गरे ।
विगतमा पनि एमाले विभाजन गर्ने प्रयास असफल भएको बताउँदै नेता पौडेलले विभाजनका कुनै पनि प्रयासहरू रुपन्देहीमा काम नलाग्ने दाबी गरे । केही महिनाका लागि नेकपा एमाले प्रतिपक्षमा भए पनि छिट्टै बहुमतका साथ फेरि सरकारमा जाने उल्लेख गरे ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई टालाटुली सरकारको संज्ञा दिँदै उनले २ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा आलोचना गरे ।
पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा सुकुम्बासीको समस्या समाधानका लागि गठन गरिएको आयोग विघटन, दल विभाजन सम्बन्धी अध्यादेश लगायतका आलोचनात्मक कदमबाहेक केही गर्न नसकेको टिप्पणी गर्दै उनले देउवा नेतृत्वको सरकार जनताप्रति जिम्मेवार नभएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !