महिलाहरूमा देखिने स्त्री तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या र अन्य सुविधासहितको आधुनिक अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनले विभिन्न सर्तसहितको समझदारीपत्रमा हास्ताक्षर गरी प्रक्रिया अघि बढाएका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनले उक्त अस्पताल निर्माण गरी दिने जनाएको छ । लुम्बिनी गार्डेन फाउन्डेशनका महासचिव एकराज गिरीले यसको लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गरिदिनु पर्ने सर्त अगाडि सारेका छन् ।
जग्गाको ब्यवस्थापन प्रक्रिया पुर्याउने काम हुँदै गर्ने र अस्पताल निर्माणका लागि डिपिआरलगायतका पूर्वतयारीहरू सुरु गर्नको लागि सम्झौता भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिनाभित्र जग्गाको ब्यस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा जग्गाको व्यवस्था गरिएको भन्दै नगरप्रमुख चौधरीले जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याई अस्पताललाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
सम्झौता कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी अहिले पनि धेरै कुरामा पछाडि रहेको भन्दै फाउन्डेसनको सहयोगमा यस क्षेत्रमा अस्पताल निर्माणको सुखद् सुरुवात भएको बताए ।
तपाईको प्रतिक्रिया !