सरकारले तिलौराकोटलाई सुरक्षित स्मारक क्षेत्र घोषणाको निर्णय गरेसंगै बुद्धको क्रिडास्थल तिलौराकोटमा जग्गा अधिग्रहणमा तीव्रता दिइएको छ। तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउनका लागि स्मारक क्षेत्र घोषणा गर्ने सरकाले गत पुस ३० गते मन्त्रीपरिषद्को निर्णयबाट पारित गरेको थियो। आर्थिक वर्ष २०७३/०७४ देखि पुरातत्व बिभागले तिलौराकोटमा जग्गा अधिग्रहण प्रकृया जारी राखेको छ। विभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा गर्ने प्रकृया अघि बढाउन जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको बताए।
चालु आर्थिक वर्षकालागि तिलौराकोटमा जग्गा अधिग्रहणकालागि १४ करोड रुपैयाँ बिनियोजन गरिएको छ। जसबाट तिलौराकोटको पश्चिममा शिवगढमा रहेका १६ घर तथा पश्चिम उत्तरमा रहेको ५ बिघा क्षेत्र अधिग्रहण गर्ने गरी प्रकृया अघि बढाइएको अधिकृत कुँवरले बताए। अहिलेसम्म जग्गा अधिग्रहणकालागि ८२ करोड रकमबाट ७० बिघा जग्गा अधिग्रहण भई सकेको छ। यस यसअघि नै तिलौराकोट क्षेत्रको नाममा रहेको ३० बिघा जग्गा गरी अहिलेसम्म सय बिघा क्षेत्र तिलौराकोटको भईसकेको छ। तिलौराकोट क्षेत्रलाई सय बिघा क्षेत्रमा फैलाउने योजना छ।
अर्को वर्ष शिवगढमा रहेको बाँकी घर र जग्गा अधिग्रहण गर्ने याजना रहेको कुँवरले बताए। जग्गा प्राप्ती ऐन २०३४ अनुसार प्रअिजको अध्यक्षमा रहेको समितिले निर्धारण गरेको मुल्य अनुसार जग्गा अधिग्रहण गरिएको हो। बिगत एक दशकदेखि तिलौराकोट क्षेत्र र त्यस आसपासमा उत्खनन र अनुसन्धान जारी छ। ५ वर्षअघि उत्खननका क्रममा कन्थक स्तुपको किनारमा रहेका व्यत्तिगत जग्गामा २ वर्षअघि गरिएको उत्खननमा करिब ५ सय वटा प्राचिन चाँदीका सिक्काहरु भेटिएका थिए।
यस्तै जियो फिजिकिल सर्वेका क्रममा तिलौराकोट बाहिर समेत विभिन्न संरचनाहरु रहेको देखाएको थियो। तिलौराकोट किल्ला पर्खाल बाहिर उत्खननका क्रममा भेटिएका भग्नावशेष र भुभौतिक सर्वेक्षणबाट संकेत गरिएको संरचनाहरुको अध्ययन अनुसन्धानसहित थप जानकारीहरु संकलन गरी यसलाई बिश्व सम्पदा सुचीमा समेत सुचीकृत गर्ने योजना अनुरुप जग्गा अधिग्रहण प्रकृया थालिएको पुरात्व विभागले जनाएको छ।
तिलौराकोट राजा शुद्धोधनको राजप्रासाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थान हो। यहाँ पूर्वीद्वार जहाँबाट सन्सारिक माया मोह छाडेर राजकुमार सिद्धार्थ ज्ञान प्राप्तिकालागि निस्किएका थिए त्यो छ। यसलाई महाभिनिष्क्रमण द्वार भनिन्छ। त्यस्तै पश्चिमी द्वार र मध्यमा राजदरबारको भग्नावषेश छन्। स्मारक क्षेत्र घोषणाको निर्णयसंगै तिलौराकोट क्षेत्रको चौकिल्ला समेत निर्धारण गरिएको छ।
तपाईको प्रतिक्रिया !