काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ सर्वसम्मतिले पारित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा मन्त्री पौडेलले विधेयक सम्बन्धी सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै विश्वविद्यालयहरूलाई विषयगत विश्वविद्यालयका रुपमा अघि बढाउने सरकारको लक्ष्य अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभयो ।
उहाँले विश्वविद्यालयहरूलाई समय अनुकूल प्रतिस्पर्धात्मक र अनुसन्धानात्मक क्षेत्रको रुपमा विकास गदै जाने कार्य अघि बढाइएको समेत बताउनुभयो ।
यसअघि, राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले व्यवहारमा कार्यान्वयन गर्न सकिने गरी कानुनको निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकको विशेष समयमा सांसद प्रकाश पन्त, राधेश्याम पासवान, उदयबहादुर बोहोराले देशको संघीय व्यवस्थालाई संस्थागत गर्ने गरी समाज र समयानाकुल कानुन संशोधन गदै प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
सांसदहरु डा. विमला राई पौडेलले, मोहम्मद खाली, महेशकुमार बोहोरा, इन्दु कडरीयाले सुकुम्बासी बासिन्दा,देशको सीमानाका सम्बन्धी सरकारको स्पष्ट मत हुनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले अर्थ मन्त्रालयको विवादित सिसिटिभी फुटेजको विषयमा सत्य तथ्य यथाशीघ्र बाहिर ल्याउन र दोषी माथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक साउन ९ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !