जनकपुरधाम, भदौ २५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । पिछडा वर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा आफु भए पनि सम्मानजनक तरिकाले सिटको बाँडफाँट नभए गठबन्धन अगाडि बढन नसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “मधेशको शक्तिलाई कमजोर नठान्न म नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीलाई यहीबाट आग्रह गर्छु ।”
समानताविना लोकतन्त्र र स्वतन्त्रताको कुनै अर्थ नहुने भन्दै असमानता भएको समाजमा न्याय दिन कठिन हुने उहाँले बताउनुभयो । नेपालको शासन सत्ता र न्यायपालिकामा एउटै समुदायको बर्चश्व कायम रहेको भन्दै समानतामा अधारित समाज निर्माण गर्न कानूनी रुपमा पिछडा वर्गको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । आफनो अधिकारका लागि एक ठाउँमा उभिन पिछडा वर्गलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले प्रदेश सरकारले सम्बोधन गर्न सकिने पिछडा वर्गका मागहरु धेरैजसो सम्बोधन भएको बताउनुभयो । असमानता र विभेदविरुद्धमा प्रदेश सरकारले विभिन्नखालका कामहरु गरेको उहाँको भनाई छ ।
पिछडा वर्ग महासंघ नेपालका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, युवा नेता जितेन्द्र यादवसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।
तपाईको प्रतिक्रिया !