कपिलबस्तु, असोज ८ गते । ‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस कपिलबस्तुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सन् १९५८ सेप्टेम्बर २३ तारिखमा इटालीको रोममा बहिरा व्यक्तिहरू पहिलो पटक भेला भएको सम्झना स्वरूप यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र संघको महासभाले ४ वर्षअगाडि साङ्केतिक भाषालाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिएपछि यो दिवसलाई नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइने गरेको छ ।
कपिलबस्तु बहिरा संघले सबै स्थानीय तहमा साङ्केतिक भाषा सम्बन्धि दोभाषेको व्यवस्था गर्नुपर्ने माग गरेको छ । संघका अध्यक्ष रिन्कु गुप्ताले हरेक सार्वजनिक कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने र त्यसका लागि दोभाषे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने तथा बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । बहिरा व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संघसंस्थाको सङ्ख्या धेरै कम भएको कारणले गर्दा पनि बहिरा व्यक्तिहरू पछि परेको बताउँछन् ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले नगरभित्र रहेको सबै बहिरालाई एकबद्ध गरेर लैजानु पर्ने बताउनुभयो । बहिराहरुको खोजी गरी साङ्केतिक भाषाको तालिम दिएर बुझ्ने बनायो भने मात्रै उहाँहरु आफ्नो अधिकार पाएको महसुश हुने श्रेष्ठले बताउनुभयो । साङ्केतको अधारमा भाषा बुझ्नाको लागि नगरपालिकाले विगत देखि नै बजेटको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।
दिवसको अवसरमा बहिरा भएको व्यक्तीको पेट दुःख्यो भने आफ्नो समस्या कसरी बताउने सम्बन्धि नाटक, रैली, राष्ट्रिय गान लगायतको कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कपिलबस्तु बहिरा संघका कोषाध्यक्ष ज्ञान प्रसाद सुवेदी, साङ्केतिक भाषाकी दोभाषे यशोदा थापा, बहिरा भइका व्यक्ती, प्रहरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाको सहयोग र कपिलबस्तु बहिरा संघको आयोजनामा भएको हो ।
तपाईको प्रतिक्रिया !