कपिलबस्तु, असोज १५ गते । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलबस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश सुर्यनाथ प्रकाश अधिकारीले कार्यालयको स्थापना गरेका हुन् । कपिलबस्तुमा तिन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को लागि बाणगंगा नगरपालिकाको गजेहडामा, क्षेत्र नं २ को लागि जिल्ला समन्वय समितिको कार्यालय तौलिहवा र क्षेत्र नं. ३ को लागि शिवराज नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मंसिरमा हुने चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश सुर्यनाथ प्रकाश अधिकारीले बताउनुभयो । कार्यालय सञ्चालन भए संगै निर्वाचन संग चासो राख्ने दललाई सजिलो हुने उहाँले बताउनुभयो । कार्यालय सञ्चालन भए पछि निर्वाचन आचारसंहिता र निर्वाचनको कार्यक्रमहरु जानकारी हुने उहाँको भनाई छ ।
त्यस्तै क्षेत्र नम्वर १ का लागि बाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नं. ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर १ को निर्वाचन अधिकृत शिव प्रसाद पराजुली र क्षेत्र नं. ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ ।
कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह वितरणको कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो । मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गरेर गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ ।
निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन् । जसमध्ये २ लाख २ हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने २ अन्य मतदाता रहेका छन् । जिल्लामा २ सय ३४ मतदान स्थल र ४ सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो ।
कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन वलि, प्रहरी उपरिक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भुमी राम पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !