काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।
गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी हुनुभएको थियो । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
विसं २०७४ को चुनावमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो । डा. भट्टराईले आसन्न चुनावमा प्रतिस्पर्धा नगर्ने बताइसक्नुभएको छ ।
यसअघि २०७४ को चुनावमा प्रचण्ड चितवन ३ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा उहाँ काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा चुनावमा सिरहा ५ र काठमाण्डौ १० बाट उम्मेदवार बने पनि उहाँ काठमाण्डौ १० मा पराजित हुनुभएको थियो ।
पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको ब्रिफिङ गराउनुभएको थियो ।
तपाईको प्रतिक्रिया !