तौलिहवा । छठ पर्वमा कपिलबस्तुमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । नदी किनारका छठपूजा स्थलमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठ पर्वको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।
व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन हुने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।
कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माताको पूजाआजा गर्दै यो पर्व मनाईएको हो । रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरुले छठको सामूहिक पूजा गरेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै कृष्णनगर, लबनी, दोहनी, बहादुरगंज लगायतका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको बिशेष पूजापाठ गरी सामूहिक रुपमा यो पर्व मनाएका हुन ्। यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो । रामघाट नदीको बारी र पारी दुवै तर्फ पुजाका लागि भक्तजनहरुको भीड लागेको थियो ।
तपाईको प्रतिक्रिया !