कपिलबस्तु, कात्तिक १७ गते । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुको आयोजना र कपिलबस्तु नगरपालिकाको सहयोगमा नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको थियो ।
पहिलो हुने निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिक तर्फको मतपत्रमा मतदान गरिएको हो । मतदान पछि प्रतिक्रिया दिँदै जिल्ला निर्वाचन अधिकारी राजिव पन्थिले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमुना मतदान गरिएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनभन्दा अहिलेको निर्वाचन सहज रहेको उहाँको भनाई छ । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने पन्थिले बताउनुभयो ।
नमुना मतदान कार्यक्रममा ३९ जना मतदाता सहभागि भएको उहाँले बताउनुभयो । मतगणना पश्चात ३४ मत सदर र ५ मत बदर भएको पन्थिले बताउनुभयो ।
जिल्लामा तिन प्रतिनिधि सभा र छ प्रदेश सभा गरी कुल नौ पदका लागि १ सय ४३ जना उम्मेदवार रहेका छन । नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सुर्यनाथ प्रकाश अधिकारी, प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पोडेल, स्थानिय लगायतको सहभागिता रहेको थियो । नगरपालिका भित्रका स्थानीय मतदाता, कर्मचारी, सुरक्षाकर्मी समेतको सहभागिता थियो ।
निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन् । जसमध्ये २ लाख २ हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने २ अन्य मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया !