पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट
प्रतीकात्मक तस्बिर
डाेटी – डोटीको शिखर नगरपालिका वडा नम्बर १० र ११ जोड्ने बानेडुग्रीसैनमा पर्ने सेती नदीमा निर्माणाधीन मोटरेबल पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन परेको छ । स्थानीयवासी रामहरि ओझाले पुल यथाशक्य छिटो निर्माणका लागि परमादेश लगायत उपयुक्त आदेश गरिपाउँ भन्दै उच्च अदालत दिपायलमा रिट दायर गर्नुभएको हो ।
उच्च अदालतले त्यस क्षेत्रका बासिन्दालाई न्याय हुने गरी उपयुक्त आदेश गर्नेमा आशावादी रहेको पत्रकार समेत रहनुभएका रिट निवेदक ओझाले बताउनुभयो । तीन वर्षमा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी २०७१ असार २९ गते निर्माण कम्पनी पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) सँग सम्झौता भएको थियो । निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पुलको २२ प्रतिशत मात्रै काम पूरा भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजार लागतमा निर्माण हुने भनिएको तीन सय २० मिटर लामो त्यस पुल निर्माणका लागि डिभिजन सडक कार्यालय डोटीले जेभीसँग सम्झौता गरेको थियो । अहिले पुल निर्माणको काम राजेन्द्र निर्माण सेवाले गर्दै आएको छ । आठ वर्षसम्म पुल निर्माण नभएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













