कपिलवस्तु, फागुन १ गते । भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।
शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारले कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा प्रदेशस्तरको सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । अस्पताल भवन निर्माणको लागि ठेक्का समेत लागेको छ । हाललाई भवन लिजमा लिएर सेवा सुरुवात गर्ने भवन निर्माण भएपछि स्थानान्तरण गर्ने मन्त्री पन्थीले बताउनुभयो ।
उहाँले मन्त्री भएपछि पहिलो निर्णय गर्दै अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको बताउनुभयो । प्रदेशको तेस्रो प्रादेशिक अस्पताल सरुवारोग अस्पताल हुनेछ । चिकित्सक, स्वास्थ्यकर्मी, अन्य प्राविधिक जनशक्ति परिचालनका लागि तयार रहेको छ । अस्पतालको काम फास्ट ट्र्याकमा गर्न पूर्वाधार निर्माणसँगै अस्पताल सञ्चालन समेत गरिने मन्त्री पन्थीले बताउनुभयो ।
उहाँले प्रदेशभित्रका हरेक अस्पतालका त्रैमासिक रूपमा घुम्ती विशेषज्ञ सेवा प्रदान गरिने बताउनुभयो । अस्पतालमा नभएका सेवा प्रदान गर्न तीन महिनामा एक पटक विशेषज्ञ चिकित्सकसहितको टोली खटाइनेछ । जसका कारण प्रादेशिक अस्पताल धाउनु पर्ने बाध्यता आंशिक रूपमा अन्त्य हुने विश्वास गरिएको छ । प्रदेशका सबै जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि थप योजना बनाइ अगाडि बढाउने मन्त्री पन्थीले प्रतिबद्धता जनाउनुभएको छ ।
तपाईको प्रतिक्रिया !